अवैध रूपमा भन्सार छली सुनको कारोबार गर्ने तीन जना पक्राउ

७ असार २०८१, शुक्रबार अवैध रूपमा भन्सार छली सुनको कारोबार गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका ८ बस्ने २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका १३ घर भई काठमाडौं महानगरपालिका २६ बस्ने ४३ वर्षीय सन्तोष परियार र तनहुँ भानु नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका २६ बस्ने २५ वर्षीय अन्जिल गुरूङ रहेका छन् । हिमालय एयरलाइन्सको उडानमार्फत कतारबाट नेपाल आएका व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मोहमद दिलसादलाई पाइन्टको कम्मरको भागमा टिस्यु पेपरले फोल्ड गरी लुकाई राखेको ८ सय ९० ग्राम तौल भएको सुनको ब्रास्लेट १ थान र ११ ग्राम ६ सय ५० ग्राम तौल भएको बेरूवा औँठी १ थानसहित सिनामंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानको क्रममा उक्त सुन ओसारपसार गर्ने कार्यमा संलग्न रहेका सन्तोष र अन्जिललाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।